Menu

आजको मौसम

‘श्रम शोषणविरुद्ध’ माइतीघरमा १३ हजार चिकित्सकको धर्ना

Author
News Desk | Sunday, June 14, 2026
0
Featured

काठमाडौँ । नेपालका विभिन्न मेडिकल कलेज र शिक्षण अस्पतालहरूमा कार्यरत झन्डै १३ हजार चिकित्सकहरू चरम श्रम शोषण र उत्पीडनको विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा संघर्ष अभियान केन्द्रीय समितिको ब्यानरमा आन्दोलित भएका इन्टर्न, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले शनिबारदेखि राजधानीको माइतीघर मण्डलामा दबाबमूलक धर्ना सुरु गरेका छन् । श्रम, शिक्षा र स्वास्थ्य मन्त्रालयले आफ्ना न्यायोचित मागहरूबारे लामो समयसम्म कुनै सुनुवाइ नगरेपछि बाध्य भएर सडक संघर्ष रोज्नुपरेको आन्दोलनकारीहरूले बताएका छन् ।

हाल नेपालभर १ हजार ५०० इन्टर्न, ८ हजार मेडिकल अधिकृत र ३ हजारभन्दा बढी आवासीय चिकित्सकहरू कार्यरत छन्, जो अस्पतालहरूको चौबीसै घण्टे सेवा प्रवाहका मुख्य मेरुदण्ड हुन् ।

संघर्ष समितिका संयोजक डा। प्रज्ञान बस्नेतले अत्यधिक कार्यबोझ र अनिद्राका कारण चिकित्सकहरू गम्भीर मानसिक प्रताडनामा परेको खुलासा गरेका छन् । छात्रवृत्तिमा सरकारी अस्पतालमा एमडीरएमएस अध्ययन गरिरहेका चिकित्सकहरूलाई हप्तामा करिब १०० घण्टा र एकैपटक लगातार ३६ देखि ७२ घण्टासम्म आराम र सुत्ने समय नै नदिई ड्युटीमा खटाइने गरेको उनले बताए ।

यस्तो असह्य तनाव सहन नसकेर बिचमै पढाइ छोड्न खोज्दा समेत भारी जरिवाना तिर्नुपर्ने र जरिवाना नतिरेसम्म अर्को वर्षको प्रवेश परीक्षामा समेत सामेल हुन नपाइने बाध्यकारी नियमका कारण चिकित्सकहरू मानसिक रूपमा थप थिचिएका छन् । श्रम मन्त्रालयले हप्तामा ४८ घण्टाभन्दा बढी काम नलगाउन निर्देशन जारी गरे पनि मेडिकल कलेजहरूले विश्वविद्यालयको परीक्षा तयारी गर्ने समय समेत नदिई बिरामी जाँच्न बाध्य पार्ने गरेको र आवाज उठाउँदा ‘परीक्षामा फेल गराइदिने’ धम्की दिने गरिएको पीडितहरूको गुनासो छ ।

पारिश्रमिकको हकमा पनि चिकित्सकहरूको चरम आर्थिक शोषण भइरहेको संघर्ष समितिका महासचिव डा। सौगात पाण्डेले जानकारी दिए । निजी मेडिकल कलेजहरूमा इन्टर्नसिप गर्ने डाक्टरहरूलाई मासिक जम्मा १० देखि १२ हजार रुपैयाँ मात्र दिइने गरेको छ भने लाइसेन्स प्राप्त मेडिकल अधिकृतको तलब केवल ३२ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, निरन्तर ७२ घण्टासम्म काममा खटिने र तीन वर्षको अध्ययन अवधिभर प्रसूति ९सुत्केरी० बिदासमेत नपाउने महिला आवासीय चिकित्सकहरूले मासिक जम्मा ४८ हजार रुपैयाँमा चित्त बुझाउनुपरेको छ । पर्याप्त निद्रा, उचित पारिश्रमिक र अध्ययनको समय नपाउँदा कतिपय चिकित्सकले आत्महत्या समेत गरेको र धेरैजसो बिचमै पढाइ छाडेर विदेश पलायन हुन बाध्य भइरहेको डा। पाण्डेको भनाइ छ। यही श्रम शोषणको चपेटामा चिकित्सक मात्र नभई नर्स र प्यारामेडिक्सहरू समेत परेका छन् ।

यसअघि चिकित्सकहरूले आफ्नो श्रम अधिकारका लागि गत वैशाख २८ गते नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका थिए। श्रम ऐनले दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टा ९ओभरटाइमसहित अधिकतम ७२ घण्टा० कामको सीमा तोके पनि अस्पतालहरूले त्यसको धज्जी उडाएको भन्दै प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराइए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।

आन्दोलनरत चिकित्सकहरूले नेपालको श्रम ऐन, २०७४ बमोजिम ड्युटी समय निर्धारण हुनुपर्ने, हप्तामा एक दिन अनिवार्य बिदा र ओभरटाइम भत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् ।

यसका साथै पारिश्रमिकसहितको प्रसूति बिदा, सरकारी निर्णय बमोजिम अधिकृत आठौँ तह सरहको बढेको तलब कार्यान्वयन, मानसिक स्वास्थ्य समिति गठन, बिचमै पढाइ छोड्दा लाग्ने जरिवानामा छुट र नवीकरणका लागि राखिएको एकवर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्नुपर्ने माग समितिले अघि सारेको छ। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी संघर्ष समितिले दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?