
वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपालले भारतको कुनै पनि भूमि अतिक्रमण नगरेको बताएका छन् ।
रिपोर्टर्स क्लब पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राख्ने क्रममा नेपालले भारतको भूमि नमिचेको दाबी गरेका हुन् ।
‘मैले दुई पटक परराष्ट्र मन्त्रालय सम्हाल्ने अवसर पाएको थिएँ । त्यतिबेला भारतका परराष्ट्रमन्त्री प्रणव मुखर्जी हुनुहुन्थ्यो,’ यादवले भने, ‘सीमा विवादका विषयमा न त भारत सरकारले न त भारतीय परराष्ट्र मन्त्रालयले नेपालले भारतीय भूमि मिचेको कुनै औपचारिक दाबी गरेको थियो ।’
प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतीय भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयप्रति पनि यादवले असहमति जनाए ।
‘नेपालले भारतको मात्र होइन, कसैको पनि सीमा मिचेको छैन,’ उनले भने ।
यादवले नेपाल–भारत सीमा सम्बन्धी विषय तथ्य र कूटनीतिक आधारमा हेर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता विषयमा अनावश्यक भ्रम फैलाउन नहुने बताए ।