
वीरगंज, ६ भदौ/ भूमि समस्या समाधान आयोग पर्साले जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी ४३ जनालाई जग्गाको लालपूर्जा वितरणका लागि अन्तिम नामावली प्रमाणीकरण गरेको छ । शुक्रवार बसेको आयोगको बैठकले पहिलो चरणमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सथवलका ४३ जनाको नामावली प्रमाणीकरण गरेको हो । ४३ जनाको सबै कागजी प्रक्रियाहरू पूरा गरेर शुक्रवार ती ४३ जनाको नामावली प्रमाणीकरण गरिएको अध्यक्ष तबरेज अहमदले जानकारी गराएका छन् । आयोगले शुक्रवार नमावली प्रमाणीकरण गरेका सथवलका ४३ जनालाई आगामी आइतवार लालपूर्जाका लागि थप कागजी प्रक्रिया पूरा गर्न ७ दिने सूचना आहवान गर्ने आयोग पर्साका सदस्य सचिव दीपक कुमार सिंहले जानकारी दिएका छन् । बैठकमा जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकार विनय श्रीवास्तव, आयोगका विज्ञ सदस्य सन्तोष पासवानलगायतको सहभागिता थियो ।