Menu

आजको मौसम

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

Author
News Desk | Friday, May 23, 2025
0
Featured

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, सुखचैनालाई एक लाख ४४ हजार आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा कार्यरत एक निजी स्रोत शिक्षकको पारिश्रमिक व्यवस्थापन गर्न सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो । मनोज ग्याँसका उद्योगपति मनोज कुमार दासले विद्यालयका प्रधानाध्यापक मनोजप्रसाद चौहानलाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उद्योगपति दासले शिक्षा क्षेत्रलाई निजी तहबाट सघाउने उद्देश्यले यसप्रकारको सहयोग गरिएको बताए । शिक्षक शिक्षाको मेरूदण्ड हुन, र योग्य शिक्षकको निरन्तरताले मात्र विद्यार्थीको भविष्य उज्यालो हुने उनले बताए । विद्यालय व्यवस्थापन समितिले मनोज ग्याँस उद्योगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा प्रवद्र्धनमा यस्तो सहयोग प्रेरणादायी हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितेन्द्रप्रसाद कुर्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज यादव, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका सह–प्रधानाध्यापक सुनिल कुमार झाले कार्यक्रम सञ्चालन तथा सहजीकरण गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?