Menu

आजको मौसम

दृष्टिविहीनका लागि दृष्टि : वीरगंजमा जनजागृत अभियान सञ्चालन

Author
News Desk | Saturday, May 17, 2025
0
Featured

वीरगंज २ जेठ । “दृष्टिविहीनका लागि दृष्टि” भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमको उद्देश्य मृत्यु पश्चात् आँखादानको महत्वबारे जनमानसमा चेतना फैलाउनु रहेको छ। “कसैको अन्धकारमा उज्यालो बन्नुहोस्” भन्ने सन्देश बोकेको यो अभियानले वीरगंजवासीलाई आँखादानजस्तो महान कार्यप्रति प्रेरित गरिरहेको छ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आँखादानजस्तो मानवीय कार्यमा महानगरको साथ रहेको उल्लेख गर्दै भने, “आँखादान केवल एक सामाजिक कार्य होइन, यो मानवीय कर्तव्य हो। हामी सबै मिलेर यस्तो अभियानलाई सफल बनाउनु पर्छ, ताकि मृत्युपछि पनि हाम्रो योगदान कसैको जीवन उज्यालो बनाउन सकोस्। वीरगंज महानगरपालिका सदैव यस्ता जनहितका प्रयासमा अगाडि रहनेछ।” वीरगंज महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आज आँखा दान सम्बन्धमा जनमानसमा रहेका भ्रम तथा यथार्थका बारेमा जानकारी दिइएको थियो ।
आयोजक संस्था तेरापंथ युवक परिषद् वीरगंजका अनुसार, आँखादानको विषयमा अझै पनि समाजमा अपर्याप्त जानकारी र भ्रम विद्यमान छन्। यस अभियानमार्फत नागरिकहरूलाई आँखादानको प्रक्रियाबारे सही जानकारी दिनुका साथै, मृत्युपछि कसरी आफ्ना आँखा कसैको जीवनमा प्रकाश बन्न सक्छ भन्नेबारे जागरूक गराइएको हो।
कार्यक्रममा परिषद्का प्रतिनिधि राजु वैदले परिषद्ले सेवा, संस्कार र संगठनको त्रिआयामी उद्देश्यसहित कार्य गरिरहेको भन्दै आँखा दान कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
कार्यक्रममा उद्योगि अशोक वैद, महानगरपालिकाका जनप्रतिनिधी, विभिन्न शाखा महाशाखाका प्रतिनिधि, समाजसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वीरगंज महानगरपालिकाले समेत यस्तो मानवीय प्रयासमा सहकार्य गर्नु गौरवको विषय भएको बताएको छ। आयोजकहरूका अनुसार यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिइनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?